काठमाडौँ, ६ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत मधेश प्रदेशले तेश्राे जित हासिल गरेको छ । शनिबार त्रिवि मैदानमा भएको खेलमा मधेशले कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै तेस्रो जित हात पारेको हो ।

योसँगै मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । २३२ रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १ सय ७० रनमा अलआउट भयो । कर्णालीका युवा विकेटकिपर अर्जुन घर्तीले १ सय ५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । दिनेश अधिकारीले ३३ बलमा २ चौका र ३ छक्कासहित ३३ रनको इनिङ खेले ।

आठौं विकेटका लागि दिनेश अधिकारी र अर्जुन घर्तीले ६१ रनको साझेदारी गर्दै कर्णालीको जितको आशा कायमै राखेका थिए । तर तीव्र गतिका बलर राजेश यादवको ४० औं ओभरको चौथो बलमा दिनेश आउट भएपछि कर्णालीको जितको सम्भावना लगभग सकिएको थियो । अर्जुन अन्तिम विकेटको रुपमा लङअनमा पवन सरार्फबाट क्याच आउट भए ।

कर्णालीले कप्तान तथा प्रमुख ब्याटर रवीन्द्रजंग शाहीलाई एक रनमै गुमाएको थियो । तीव्र गतिका बलर राजेश यादवको बलमा रवीन्द्र एज लागेर फस्टस्लिपमा रञ्जित कुमारबाट क्याच आउट भएका थिए । राजेश यादवले नै हिमांशु शाहीलाई २ रनमा क्याच आउट गराए । तेस्रो विकेटका लागि विपिन शाही र अर्जुन घर्तीले ४४ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
विपिन शाही स्पिनर रञ्जित कुमारको बलमा कभरमा रुपेशबाट क्याच आउट भएपछि कर्णालीलाई ठूलो झड्का लागेको थियो । विपिन शाहीले ३८ बलमा ६ चौकासहित ३१ रनको इनिङ खेले । निश्चल रावल प्रदीप पासवानको बलमा ४ रनमा बोल्ड आउट भए । दीपेन्द्र रावत ५, प्रकाश जैसी १४ र युनिस सिंह शून्यमा आउट हुन पुगे । मधेशका राजेश यादवले ६ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।
प्रदीप पासवानले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । रुपेश सिंह, अभिषेक तिवारी, रञ्जित कुमार, हरिशंकर शाह र पवन सरार्फले १-१ विकेट लिए । पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३१ रन बनाएको थियो। मधेशका कप्तान हरिशंकर शाहले ६१ बलमा ६ चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेले । युवा ब्याटर मयन यादव ८८ बलमा ५ चौकासहित ५० रनमा आउट भए । अनिलकुमार साहले ४४ बलमा ४ चौका र २ छक्कासहित ४४ रनको योगदान दिए । ओपनर अनिल र हरिशंकरले मधेशलाई पहिलो विकेटका लागि १३.५ ओभरमा ८५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
पवन सरार्फ ११, निरज यादव शून्य, राहुल मण्डल १० र रुपेश सिंह ३ रनमा आउट भएका थिए । सातौं विकेटका लागि मयन यादव र अभिषेक तिवारीले ४१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । तीव्र गतिका बलिङ अलराउन्डर अभिषेक तिवारीले ३७ बलमा ४ चौका र १ छक्कासहित ३४ र बनाउँदै आउट भए । राजेश यादव र प्रदीप पासवानले ११-११ रन जोडे ।
कर्णालीका स्पिनर दीपेन्द्र रावतले १० ओभरमा १ मेडनसहित ३९ रन खर्चेर ४ विकेट लिए । अनुज चुनाराले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । युनिस सिंह, दिनेश अधिकारी र दिवान पुनले एक-एक विकेट लिए । यो जितले मधेश ५ खेलमा ३ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । कर्णाली ४ खेलमा समान २ मा जित र हारका साथ सातौं स्थानमा छ । सुदूरपश्चि ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । बागमती ५ खेलमा ६ अंक भए पनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ । तीन विभाग र ७ प्रदेश गरी कुल १० टोलीको सहभागिता छ ।