समाजिक फीड
जनकपुरधाम, माघ ५ गते ।
अगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेश प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र आइपुगेको छ ।
निर्वाचन आयोगले मतपत्र छपाइ गरी जनकपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ल्याएको हो ।
आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार मतदानका लागि ३८ प्रकारका कुल ६ हजार ९१० मतपात्र छपाइ भएको छ ।
मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र छापिएको हो । निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै मतपत्र बनाइएको छ ।
प्रदेशसभा सदस्यका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएका छन् ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङ्गको कागजमा रातो रङ्गको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।