Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ ३ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् ।

जनकपुरस्थित महेन्द्रनरायण निधि मिथिला संस्कृति केन्द्रमा उनले प्रदेशसभाको दोस्रो निर्वाचनपश्चात् मुख्यमन्त्री बन्दा गरेको कामको फेहरिस्त सार्वजनिक गरेका हुन् ।

२०७९ पुस २९ गते जनता समाजवादी पार्टी (जसपा) प्रदेशसभा संसदीय दलका नेता यादवको नेतृत्वमा सरकार गठन भएको थियो ।

सरकारका उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकार गठन हुँदा प्रादेशिक सुशासन, विकास र समृद्धिका लागि गरेको प्रतिबद्धता पूरा गर्ने अठोटका साथ नीति, कार्यक्रम र प्राथमिकता निर्धारण गरी काम कारबाही अघि बढाइएको दावी गरे ।

उनले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमलाई प्राथमिकतामा राखी प्रदेशका ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमा गरी कूल तीन सय २० किमी पक्की सडक निर्माण भइरहेका, ३५ किमी सडक कालोपत्र, एक सय २४ किमी पक्की सडक ढलान, तीन सय किमी ग्राभेल सडक निर्माण, ४१ किमी नाला निर्माण, दुई सय ३३ कल्भर्ट निर्माण, ३७ किमी कच्ची सडक सुधार गरेको उल्लेख गरे ।
सिँचाइ सुविधा विस्तार, अस्पतालको स्तरोन्नति, सहरी क्षेत्रमा सरसफाइमा जनताको पहुँच वृद्धि गर्न ५४ सार्वजनिक शौचालय निर्माण र प्रदेशस्तरीय मोडयुलर प्रयोगशालाको स्थापना तथा सबै स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको तथा स्वास्थ्य सेवालाई थप विस्तार गर्न ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नाराका साथ पालिकाको समन्वयमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना र सञ्चालनमा ल्याइएको पनि सरकारको उपलब्धिमा उल्लेख छ ।

त्यस्तै मधेसको इतिहास लेखन कार्य शुभारम्भ, बेरोजगार युवामध्ये तीन हजारलाई सीप विकास तालिमसहित कम्तीमा तीन महिनाको रोजगारी दिने कार्य आरम्भ, उद्यमशीलता विकासका लागि पहल, हरित प्रदेश अभियानअन्तर्गत आठवटै जिल्लामा उच्च प्रविधि (हाइटेक) वन नर्सरी स्थापना गरी ६३ लाख ४५ हजार बिरुवा उत्पादन, दिगो वन व्यवस्थापनमा जोड, मधेस प्रदेशमा वन विकास तथा विस्तार गर्नका लागि समृद्धिका लागि वन परियोजना मार्फत २५ स्थानीय तहमा रु ५२ लाखका दरले बजेट विनियोजन, चुरे क्षेत्रको संरक्षण तथा नदी नियन्त्रणका लागिसमेत उल्लेख्य काम गरेको प्रदेश सरकारको दाबी छ ।

यस्तो छ मधेश प्रदेश सरकारले सार्वजनिक गरेको एक वर्षे अवधिमा गरेको कामको विस्तृत विवरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *