Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ ३ गते ।

स्वाभिमान दिवस मनाउने क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले एकलौटी गरेको भन्दै सत्तारुढ गठबन्धन भित्र विवाद चर्किएको छ ।

बुधवार मधेश प्रदेश सरकारले अयाोजना गरेको स्वाभिमान दिवसमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथी बनाउने निर्णय मुख्यमन्त्री यादवले गठबन्धन दलहरुसँग छलफलै नगरी गरेको भन्दै सरकारमा सहभागी भएका चारवटा दल बिच्किएको छ ।

प्रदेशको नामाकरण र प्रदेश राजधानी घोषणा भएको सम्झनामा सरकारले उक्त कार्यक्रम जनकपुरस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना गरेको थियो ।

अध्यक्ष यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमको अध्यक्षतामा मुख्यमन्त्री सरोजकुमार यादवले गरेका थिए ।

यो कार्यक्रममा नेपाली कांग्रेस र जसपाका मन्त्रीहरु सहभागी थिए भने गठबन्धनका चारवटा दलले प्रतिपक्षी नेकपा एमालेसँग मिलेर प्रदेशसभाको सभाहलमा छुट्टै कार्यक्रम गरे ।

माओवादीका संसदीय दलका नेता भरत साहको अध्यक्षतामा प्रदेश सभाको सभाकक्षमा भएको उक्त कार्यक्रममा नेकपा एमाले, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी र लोसपाका मन्त्री तथा सांसदहरु सहभागी थिए । एमाले सहितका दलहरुसँग बाँकी सत्तारुढ दलले प्रदेशसभा हलमा कार्यक्रम गरिरहेको बेला मुख्यमन्त्रीको सन्देश बोकेर अर्थमन्त्री संजय यादवले प्रदेशसभा पुगेका थिए ।

त्यहाँ कार्यक्रम गरिरहेका सांसद तथा मन्त्रीहरुलाई निधि भवनमा हिँड्न आग्रह गरेका थिए । माओवादी नेतृ एवं उद्योग वाण्ज्यि तथा पर्यटनमन्त्री सुनिता यादव मात्रै उनको आग्रह मानेर मुख्यमन्त्रीसँग कार्यक्रम मनाउन पुगे । बाँकी दलका मन्त्री तथा सांसदले उनको कुरा सुनेनन् ।

जनमत पार्टीबाट शिक्षा तथा संस्कृतिमन्त्री महेश यादवले मुख्यमन्त्रीले सरकारको कार्यक्रमलाई एकलौटी गरेर पार्टीको कार्यक्रमजस्तो बनाउन खोजेपछि आफुहरु सबै दलहरुलाई समेटेर स्वभिमान दिवस मनाउन खोजेको बताए ।

‘मुख्यमन्त्रीले दलभन्दा माथि नउठेर हैकमवादी शैलीमा प्रदेश सरकारको कार्यक्रमलाई पार्टीकरण गर्ने जुन प्रवृति देखिएको त्यसको विरोधमा हामीले छुटै कार्यक्रम गरेका हौँ,’ उनले भने, ‘ गठबन्धनमा आबद्ध दलका नेताहरुसँग सल्लाहै नगरी कार्यक्रम गर्ने ? गठबन्धनमा कुनै छलफलै नगर्ने अनि कमजोरी हुँदा गल्ती भयो भनेर क्षमा दिनुस भन्ने । मुख्यमन्त्रीज्युले क्याबिनेटम छलफल गर्नुपर्ने कुरा पनि गर्दैन । सबैको सहभागीतामा दिवस मनाउने कुरा थियो । तर दल विशेषको नेतालाई बोलाएर तिनलाई मसिहा देखाउने प्रयास भयो । यो प्रवृति ठिक होइन् ।’

माओवादी संसदीय दलका नेता साहले मुख्यमन्त्री यादवले स्वभिमान दिवसलाई पार्टी विशेषको कार्यक्रम गर्न खोजेपछि आफुहरु सबै दललाई समेट्ने प्रयास गरेर छुटै कार्यक्रम गरेको बताए ।

‘प्रदेश सरकारले ओजपुर्ण कार्यक्रमलाई हलुको बनायो । पार्टीकरण गर्न खोज्यो । आजको कार्यक्रममा सबै उत्पीडित वर्ग समुदय र वर्गको कार्यक्रम बनाउनबाट चुक्यो,’ साहले भने, ‘अन्तिम समयमा आएर कुनै नेता विशेषलाई प्रमुख अतिथि बनाउने हामीकहाँ सूचना आएपछि हामी अलग्गै कार्यक्रम गरेर सबैलाई समेट्न खोज्यौँ ।’

यद्दपी प्रदेश सरकारले एकलौटी गरेको कुरामा कुनै सत्याता नगरहेको जसपा सांसद एवं उर्जा सिँचाई तथा खानेपानी मन्त्री सिंगासन सा कलवारले बताए ।

‘असन्तुष्टि थियो भने आफ्ना कुराहरु ती दलका नेताहरुले राख्दा हुन्थ्यो त । मुख्यमन्त्रीज्युले हैकमवादी चरित्र देखाउनुभएको होइन सबैलाई मिलाएरै जान खोज्नुभएको हो,’ मन्त्री कलवारले भने । प्रमुख अतिथिको विषयमा दलहरुबीच छलफल भएको वा नभएको विषयमा आफुलाई केही थाहा नभएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *