काठमाडौँ, ३ माघ । भारतका राजदूत नवीन श्रीवास्तवले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेटघाट गरेका छन् । बुधबार बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा श्रीवास्तवले उपराष्ट्रपति यादवसँग भेट गरेका हुन् ।
भेटघाटका क्रममा द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरू, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूलगायत विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटमा उपराष्ट्रपति यादवले नेपाल र भारतबीच सौहार्द्रता, मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगले गाँसिएको गहिरो एवं वृहत् सम्बन्ध रहेको बताए । उनले नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकको क्रममा नेपाल आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले हामीबीच आदानप्रदान भएका दीर्घकालीन ऊर्जा व्यापार लगायतका सम्झौताहरू हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
भेटमा भारतका राजदूत श्रीवास्तवले दुई मुलुकबीच बहुआयामिक सम्बन्ध रहेको जनाउँदै भारत सधैँ नेपालको विकास यात्रामा सहयोगी रहेको र अगामी दिनहरूमा पनि रहिरहने बताए । राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालसँग खास लगाव रहेको जनाउँदै सन २०२४ मा भारतका विदेशमन्त्रीको पहिलो अन्तर्राष्ट्रिय भ्रमण नेपालबाट हुनुले हाम्रो मुलुकले नेपाललाई दिएको महत्त्व र प्राथमिकतालाई दर्साएको बताए ।