समाजिक फीड
जनकपुरधाम, माघ ३ गते ।
जनमत पार्टीका नेता–कार्यकर्ताले मधेश प्रदेश प्रदेश सरकारले आयोजना गरेको कार्यक्रम स्थलमै पुगेर प्रदर्शन गरेका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्ने बेला जनकपुरस्थित महेन्द्र नरायण निधि मिथिला सांस्कृति भवनभित्र पसेर जनमतका कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।
मधेश प्रदेश सरकार गठन भएयता जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको ६ वर्षे कार्यकालमा भएका विभिन्न भ्रष्टाचार काण्डहरु छानविन गरी कारबाही गर्न माग गरे ।
नेता कार्यकर्ताले सरकार विरुद्ध प्रदर्शशन गरिरहँदा जनमत पार्टीबाटै मन्त्री रहेका महेश यादव र चन्दन सिंह समेत मञ्चमै बसेका थिए ।
तत्कालीन समयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सामुदायिक विद्यालयका छात्रालाई वितरण गर्न गरेको साइकल खरिदमा भएको भ्रष्टाचारलाई जनमत पार्टीले ‘साइकल चोरी काण्ड’ भन्दै आएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड ३३ लाखको भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दर्ता गराएपनि खरिद गरिएको थप साइकलको छानविन हुन बाँकी रहेकाले ती सबै छानविन गर्न जनमतको माग छ ।
त्यसैगरी मुख्यमन्त्री स्वच्छता अभियानको झण्डै १ अर्ब २८ करोड बजेटमा अनियमितता भएको भन्दै त्यसको समेत छानविन गरी दोषीलाई कारबाही अघि बढाउन प्रदर्शनको क्रममा उसले माग गरेको हो ।
जानकी मन्दिरमा विद्युतीकरण एवं सौन्दर्यीकरणमा करोडौंको भ्रष्टाचार भएकाले त्यसको पनि छानविन गर्नपर्ने जनमतले माग गरेको छ ।
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सर्लाहीको नाममा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको भन्दै अख्तियारद्धारा विशेष अदालतमा मुद्दा दायर भएको र मधेश प्रदेश सरकारद्धारा शहीद परिवारलाई वितरण गर्ने भनि ल्याइएको भैंसी वितरणमा शहीद परिवारलाई ठगेको प्रकरणमा समेत अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने जनमत पार्टीका सचिव साहले बताए ।
यद्दपी सम्बोधनको क्रममा मुख्यमन्त्री यादवले भ्रष्ट सरकारमा किन बसेको भन्दै जनमतका मन्त्रीसँग प्रश्न गरका थिए ।