समाजिक फीड
काठमाडौं, माघ २ गते ।
व्यापक आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालयबाट १३ जनालाई हटाएका छन् ।
एक वर्षको कार्यकालको समीक्षापछि ३५ जना कर्मचारीमध्ये १३ जनालाई हटाइएको हो ।
प्रचण्डले अनावश्यक रुपमा नियुक्त गरेका कर्मचारीलाई स्वकीय सचिवालयबाट हटाएका हुन् ।
एक स्वकीय सहसचिव, ४ जना स्वकीय उपसचिव, एक स्वकीय शाखा अधिकृत, २ जना प्रशासन सहायक, २ जना कम्प्युटर सहायक र २ जना हलुका सवारी चालकलाई माघ १ गतेबाट जिम्मेवारी खोसिएको हो ।
स्वकीय सहसचिव रहेका नारायणप्रसाद ढुंगानासहित सचिवालयका १३ जनालाई एक वर्षको योगदानको लागि धन्यवादसहित बिदा गरिएको प्रधामनन्त्रीका प्रमुख स्वकीय सचिव सन्तु दरैले बताए ।
‘विभिन्न पदको दरबन्दी कटौती गरेर चुस्त बनाउने क्रममा सचिवालयमा पनि कटौती गरिएको हो,’ उनले भने, ‘यो प्रधामनन्त्रीको अठोट बमोजिमको सुधारको काम हो ।’
उनका अनुसार स्वकीय उपसचिवहरु रमेशप्रसाद गुरागाईं, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कलबहादुर नाथलाई विदा गरिएको हो ।
स्वकीय शाखा अधिकृत लाले कुमालसँगै प्रशासन सहायकद्वय युवराज शाह र रामलाल पराजुलीलाई पनि हटाइएको छ ।
कम्प्युटर सहायक बासुदेव शर्मा र खड्क योगीसँगै कार्यालय सहयोगी अविनाश वाइवा पनि प्रधानमन्त्रीको सचिवालयबाट बिदा भएका छन् ।
हलुका सवारी चालकहरु रमेशप्रसाद घिमिरे पवित्रबहादुर शाही पनि सचिवालयबाट हटेका छन् ।
सचिवालयमा राष्ट्रिय समाचार समितिबाट हरि लामिछानेलाई लगिएको छ ।
यद्दपी सचिवालयका अत्यावश्यक ठाउँमा केही जनशक्ति पनि ल्याइने उनले बताए ।