जनकपुरधाम, १ माघ । धनुषाको पकडियामा श्रीमान् मृत र श्रीमती घाइते अवस्थामा भेटिएका छन् । सोमबार बिहान क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित गहुँ खेतमा महोत्तरीको लोहरपट्टी नगरपालिका–३ महदैयाका राधे सहनी मृत फेला परेका हुन् ।
उनकी श्रीमती अस्मिता सहनी घाइते अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिएका छन् । गम्भीर घाइते अस्मिताको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । राधेको ससुराली पकडिया हो ।
चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरेका थिए । महेन्द्रनगरमा डेरा गरी बस्दै आएका उनीहरू साथीहरूसँग पकडिया पुगेको बताइएको छ । राधेसँगै गएका दुई जना साथीहरू भने फरार भएका छन् र उनीहरूको खोजी भइरहेको छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।