Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, पुस २९ गते ।

महोतरीको सम्सी गाउँपालिकाको कार्यालयमा वडाध्यक्षहरुले तालाबन्दी गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष रामनाथ यादव तथा प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्र मिलेर मनोमानी गरेको भन्दै ५ जना वडाध्यक्षहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

कार्यपालिका बैठकका लागि पत्रचार गरेपनि बैठक बस्न नसकेपछि आफुहरु कार्यालयमा ताल्चा हान्न बाध्य भएको वडा नम्बर ६ का वडाध्यक्ष शेष उम्मैदले बताए ।

पुष ५ गते गाउँपालिकाको कार्यपालिका बैठक सम्बन्धमा गरिएको पत्रचार पत्रमै सीमित रहेको र प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्र लामो समय देखि कार्यालयमा उपस्थित नभएको उनको भनाइ छ ।

गाउँसभा विशेष सभाको रेडबुक सार्वजनिक गर्नुपर्ने, आर्थिक वर्ष ०७९/८० र आर्थिक वर्ष ०८०/८१ को खर्च विवरण सार्वजनिक गर्नुपर्ने, कार्यपालिका बैठक यथाशिघ्र बस्नुपर्ने, गाउँपालिकामा कार्यरत ज्यालादारीका कर्मचारीको विवरण सार्वजनिक गर्नुपर्ने र प्रशासकीय अधिकृतको तत्काल सरुवा गर्नुपर्ने वडाध्यक्षहरुको माग छ ।

कार्यालयमा नआएर जनकपुर बसेर प्रमुख प्रशासकीय अधिकृत मिश्रले काम गरिरहेकाले गाउँपालिकाको योजनाहरु कार्यान्वयन हुन नसकेको वडाध्यक्षहरुको भनाई छ ।

प्रशासकीय अधिकृत कार्यालय नआउँदा समस्या भएको भन्दै वडाध्यक्षहरु जिल्ला प्रशासन कार्यालय महोतरीको ध्यानाकर्षण गराएका थिए ।

तैपनि समस्या समाधानका लागि कुनै पहल नभएपछि तालाबन्दी गर्नु परेको वडा अध्यक्षहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *