Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २९ गते ।

रौतहट जिल्ला अदालतमा आजदेखि मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइको लागि पेसी तोकिएको छ । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपसहितको मुद्दाको आज पेसी अदालतमा तोकिएको हो ।

२०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा आज पेसी तोकिएको जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिए ।

तर कसको इजलासमा सुनुवाइ हुन्छ भन्ने टुंगो १० बजे कार्यालय खुलेपछि गोलाप्रथाबाट थाहा हुने उनले बताए ।
यसअघि न्यायाधीश बाबुकाजी बानियाको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । हाल बानियाको सरुवा भइसकेको छ ।

गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।

सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।

१८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *