काठमाडाैँ, २८ पुष । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिनका खेलमा मधेश, लुम्बिनी र पुलिसले जित हासिल गरेका छन् । मूलपानीमा भएको खेलमा मधेश प्रदेशले अनिलकुमार साहको उत्कृष्ट ब्याटिङको मद्दतमा कोशी प्रदेशलाई ७ विकेटले हराएको हो ।
टस हारेर ब्याटिङ गरेको कोशीले ४१ ओभरमा सबै विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो । कोशीलाई सस्तैमा समेट्ने क्रममा प्रदीप पासवानले ३ विकेट लिए भने राजेश यादव, रञ्जित कुमार र पवन सरार्फले २–२ विकेट लिए । त्यस्तै विशाल पटेलको नाममा एक विकेट रह्यो ।
१ सय २८ रनको लक्ष्य पछ्याएको मधेशले निकै राम्रो सुरुवात गर्यो । हरिशंकर साह र अनिलकुमार साहले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरे । साह २४ रनमा आउट भए ।
अनिलसँग २० रनको साझेदारी गरेका मयान यादव १ रनमै आउट भए भने तेस्रो विकेटका रूपमा अनिल १८ औँ ओभरको तेस्रो बलमा ८८ रनमा आउट भए । पवन सरार्फ र निराज यादवले खेल पूरा गरे । पवन २ र निरज ९ रनमा अविजित रहे । कोशीका सोनु मण्डलले २ विकेट लिए भने सुजन थपलियाले एक विकेट आफ्नो नाममा लेखाए ।
त्यस्तै, शनिबार नै नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश जित हासिल गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ६८ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ८ विकेटको क्षतिमा २८२ रन बनाएको थियो ।
पुलिसका लागि रासिद खानले नटआउट १ सय ६ रन बनाए । त्यस्तै आरिफ शेखले ५७ रन जोडे । बलिङमा बागमतीका रिजन ढकाल र सूर्य तामाङले ३-३ विकेट लिए । २८३ रनको लक्ष्य पछ्याएको बागमती ४२.३ ओभरमा २ सय १४ रनमा अलआउट भएको थियो । बागमतीका लागि ओपनरद्वय आषुतोश घिराइला ९२ रन र इशान पाण्डेले ४४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
बलिङमा पुलिसका सागर ढकालले ३ विकेट लिए भने करण केसी, रासिद खान र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए । त्यस्तै आजै भैरहवामा भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्यो ।
राउन्ड रोविन प्रणालीमा हुने यो प्रतियोगिता त्रिवि क्रिकेट मैदान, मूलपानी मैदान र भैरहवामा खेलाइँदैछ । प्रतियोगितामा पहिलो पटक राउन्ड रोबिन अर्थात् सबै टोलीले एक अर्कासँग खेल्नेछन् । हरेक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । यस पटकदेखि शीर्ष चार टोलीले इलिट ट्रफी पनि खेल्न पाउने भएका छन् ।