Samajik Feed – News Portal from Nepal

दाङ, २८ पुष । दाङको भालुवाङस्थित राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको छ । गएराति नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे. १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट तल खसेको हो ।

दुर्घटनामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्ल जानकारी दिएका छन् । मृतकमध्ये २ भारतीय नागरिकसहित ८ जनाको सनाखत भएको छ । बाँकी ४ जनाको सनाखत हुन बाँकी छ ।

मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने अन्दाजी ३० वर्षीय सौरभ बिष्ट, जुम्लाको चन्दननाथ-९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुम गोतामकोट-९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौँ चन्द्रागिरि नगरपालिका-१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्र राम र भारत उत्तरप्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको रहेका छन् । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरूको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । बस चालक सल्यानका २८ वर्षीय चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेहरूलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार बसमा ३२ यात्रु सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *