Samajik Feed – News Portal from Nepal

समाजिक फीड

कैलाली, पुस २७ गते ।

रेशम चौधरी नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा निर्विरोध चयन भएका छन्।

कैलालीको टीकापुरमा जारी पार्टीको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाका क्रममा अध्यक्षका लागि उनको मात्रै उम्मेदवारी परेपछि रेशम निर्विरोध चुनिएका हुन् ।

अध्यक्षका लागि रेशमपत्नी रञ्जिता श्रेष्ठ पनि दौडमा थिइन्। तर वर्तमान अध्यक्ष रञ्जिताले निर्धारित समयमा उम्मेदवारी दिइनन्। यस्तोमा पति रेशम निर्विरोध अध्यक्ष बनेका हुन्।

चौधरी सर्वसम्मत भए पनि निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन। निर्विरोध अध्यक्ष बनेका चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए। अहिलेसम्म पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। तर उनी लामो समय जेलमा बसेर छुटै।

उता पार्टीको महासचिवमा भने आधा दर्जनभन्दा बढीको उम्मेदवारी परेको छ। रेशम अध्यक्ष बने पनि महासचिवसहित अन्य पदाधिकारीमा धेरैको उम्मेदवारी परेको छ।

महाधिवेशनबाट पार्टी अध्यक्षसहित एकजना सहअध्यक्ष, एकजना महासचिव, सातजना सचिव, सातजना उपाध्यक्ष, सातजना सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ पदाधिकारी चयन हुने छन्।

रेशम २०७२ को भदौमा कैलालीको टीकापुर नरसंहारमा मुछिएर जेल परेपछि रञ्जिताले २ वर्षअघि आफ्नै नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ता गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *