काठमाडौँ, २७ पुष । जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकमा सरकारमा आफ्नो दलबाट सहभागी मन्त्रीको कामकाजको साथै सरकारको समग्र समीक्षा हुने बताइएको छ ।
पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले हिजो सम्पन्न राजनीतिक समितिमा प्रस्तुत भएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनको बारेमा केन्द्रीय समितिमा पनि छलफल हुने बताइएको छ । सो प्रतिवेदन राजनीतिक संशोधनसहित पारित गरेको छ । राजनीतिक समितिबाट पारित सो प्रतिवेदन आजको केन्द्रीय समितिमा पनि पेस हुन्छ र त्यसमाथि छलफल गरी पारित हुने जसपाका अर्थ विभाग प्रमुख विजय यादवले बताएका छन् ।
राजनीतिक समितिले जेठ २८ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने भनी गरेको प्रस्तावलाई केन्द्रीय समितिमा लगेको छ । महाधिवेशनको तिथि मितिमाथि छलफल गरी त्यो मिति तय हुने र महाधिवेशनका अन्य कार्यकालितकाहरू पनि सार्वजनिक हुने बताइएको छ । दुई दिनसम्म चलेको राजनीतिक समितिको बैठक हिजो सम्पन्न भएपछि आजदेखि केन्द्रीय समितिको बैठक सुरु भएको हो ।