कैलाली, २७ पुष । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । कैलालीको टीकापुरमा शुक्रबार भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो । यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ।
अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन् । अन्य पदमा एकभन्दा बढी उम्मेदवारी परेकाले सहमतिको प्रयास भइरहेको छ।
चौधरी यसअघि पार्टीको संरक्षक थिए । पार्टी अध्यक्षमा उनकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी थिइन् । रञ्जिता अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छिन् । नागरिक उन्मुक्तिले एक व्यक्ति एक पद लागू गर्ने बताएको थियो ।