Samajik Feed – News Portal from Nepal

मोरङ, २६ पुष । मोरङ जहदाबाट अपहरणमा परेका १० वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । साथै, अपहरण घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बुधबार दिउँसो मोरङ जहदा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम राजवंशीका १० वर्षीय छोरा अपहरणमा परेका थिए । पक्राउ पर्नेमा जहदा–१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर–१८ का २१ वर्षीय विवेकानन्द यादव छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार घरनजिकैको चउरमा खेलिरहेका बालकलाई अपहरणकारीले ‘स्कूलमा फोटो खिच्नु छ’ भन्दै साइकलमा राखेर विराटनगरतर्फ लगेका थिए । बेलैमा प्रहरीले खबर पाएपछि केहीबेरमै बालकको उद्धार गरिएको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्ने तीनै जना भाडामा प्रयोग भएकाहरू हुन् । पक्राउ परेका युवाहरूले एक–एक हजार रुपैयाँ पाउने लोभमा बालकको अपहरण गरेको बताइएको छ । मुख्य व्यक्तिको खोजी कार्य जारी छ। घरनजिकै खेलिरहेका बालकलाई विराटनगरसम्म ल्याउने जिम्मा मिथिलेशकुमारले पाएका थिए ।

योजनाअनुसार मिथिलेशले अभिषेक र विवेकानन्दको सहयोगमा बालकलाई त्यहाँबाट लैजान सकेको प्रहरीले जनाएको छ। त्यहाँबाट साइकलमा हालेर विवेकानन्दले विराटनगरतिर लगेको र जहदाको नहरमा पुगेपछि मिथिलेशले फोन गरेर अभिषेकलाई बोलाएको देखिएको प्रहरीले जनाएको छ।

अभिषेकको दाजु बस्ने घरमा बालक राख्न खोज्दा अपहरणकारीबीच नै विवाद भएको र बालकलाई त्यहाँबाट अन्यत्र लैजाने प्रयास हुँदै गर्दा थाहा पाएर स्थानीयले हो–हल्ला गरेपछि अपहरणकारी प्रहरी नियन्त्रणमा परेका थिए । अपहरणको कारण खुल्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *