पर्सा, २६ पुस । नागरिकतासम्बन्धी अपराध गरेको भन्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा सामूहिक उजुरी परेको छ । मेयर सिंहले ‘नक्कली’ बाबु बनेर झुटो विवरण पेस गर्दै एक किशोरीलाई वंशजको नागरिकता दिलाएको अरोपमा प्रशासन कार्यालयमा १६ जनाले उजुरी दिएका हुन् ।
फर्जी जन्म दर्तालगायत सम्पूर्ण कागजपत्रहरू बनाएर २०७५ साल साउन १३ गते रुविना श्रेष्ठलाई वंशजको नागरिकता दिलाएको उनीमाथि आरोप छ । उजुरीकर्ताहरूले श्रेष्ठको नागरिकता र राहदानी खारेज गरी दुबै विपक्षीलाई हदैसम्मको दण्ड सजाय हुने गरी कारबाही गर्न प्रशासनसँग अनुरोध गरेका छन् । किशोरीको नागरिकतामा बाबुको नाम राजेशमान सिंह र नागरिकता नम्बर १६०३१८८१७ खुलाइएको छ । श्रेष्ठले स्थानीय प्रशासनबाट २०७९ साउन २४ गते राहदानीसमेत निकालेको उजुरीमा दाबी गरिएको छ ।
सिंहले नक्कली बावु बनेर नागरिकता प्राप्त गरेकी किशोरी हाल अध्ययनको सिलसिलामा अष्ट्रेलिया रहेको बताइएको छ । सिंहविरुद्ध सामूहिक उजुरी दिनेमा जसपाका स्थानीय नेता मनोज राउत कुर्मी, जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज मुकेश द्विवेदी, जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, नेपाली कांग्रेसका नगर सदस्य सुलतान अन्सारी, नेकपा एमालेका मधेश प्रदेश सदस्य ल्याकत अली, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजेश पटेललगायत छन् । यसअघि साबुदिन महम्मद सहाबुदिनले पनि मेयर सिंहविरुद्ध जाहेरी दिएका थिए ।