काठमाडौँ, २५ पुष । विशेष अदालतले नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहलाई ३ वर्ष कैद सजाय तोकेको छ । शाहलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा यो सजाय सुनाइएको हो ।
त्यस्तै साढे १६ लाखभन्दा बढी जरिवानाको पनि फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिएका छन् । गत पुस ११ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले शाहसहित २ जनालाई दोषी ठहर गरेको थियो । जसअनुसार आज सजाय निर्धारण गरिएको हो ।
१६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएकोमा सोही अनुसार जरिवाना र बिगो असुल गर्ने फैसला भएको छ ।
मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र सिन्धुलीको दुधौलीमा कार्यरत रहेका बेला अनियमितता गरेको उनीसहित अधिकारीहरूमाथि आरोप थियो । भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।
२०७२ साल वैशाख २७ गते प्रहरी जवानहरूको नया भर्ना सुरु भएको थियो । पुसको अन्तिम साता तालिम सकिएर माघदेखि तोकिएकै ठाँउबाट तलबभत्ता खानेगरी उनीहरूको पदस्थापना भएको थियो । तर शाह लगायतका अधिकारीहरूले २०७२ साल माघ र फागुनको तलब भत्ता खर्च लेखेर भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो ।
१०३ जनाको तलब भत्ताको रकम अनियमितता गर्दा ३१ लाख ८८ हजार अनि नयाँ प्रशिक्षार्थीको तलब भत्ताको नाममा थप १ दाख ४९ हजार गरी कुल ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप उनीहरूमाथि थियो । अख्तियारले कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल सञ्जिव विशंखेले लेखा परीक्षणका क्रममा त्रुटि लुकाएको भन्दै उनीविरुद्ध समेत अख्तियारले मुद्दा दायर गरेको थियो ।
२०४६ माघमा प्रहरी सेवा प्रवेश गरेका शाहले ३० वर्षे सेवा अवधिका कारण आरोप लाग्नुभन्दा एक महिनाअघि अवकाश पाएका थिए । शाह मदन पुरस्कार पाइसकेका साहित्कार पनि हुन् ।