समाजिक फीड
जनकपुरधाम, पुस २३ गते ।
मधेस प्रदेशमा राष्ट्रिय सभातर्फ जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरीले उम्मेदवारी दिएकी छन् ।
सत्ता गठबन्धनको तर्फबाट मधेसमा महिला क्लस्टरबाट उनले सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेकी हुन्।
रौतहटको चन्द्रपुरकी उनको यो संसदीय यात्राका लागि दोस्रो प्रयास हो। २०७९ मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा रौतहटको क्षेत्र नम्बर ३ (क) मा उनले उम्मेदवारी दिएकी थिइन् तर स्वतन्त्र उम्मेदवार केशव रायसँग पराजित भएकी थिइन्।
उनी जसपा केन्द्रीय कार्यकारिणी सदस्य रहेका गोविन्द चौधरीकी छोरी हुन्।
गोविन्दकै विरासतका कारण पूजालाई टिकट दिइएको हो। ४२ वर्षीया पूजा प्रदेश सभा निर्वाचनअघि राजनीतिमा लागेकी थिइनन्।
‘पाँच(छ वर्षपछि मात्रै राजनीतिमा आउने मेरो चाहना थियो। तर पार्टीले सिफारिस गरेका व्यक्तिले टिकटै लिन मानेनन्,’ उनले भनिन्, ‘बुवाले पनि तिमी अघि बढ भनेपछि मैले उम्मेदावरी दिएकी थिएँ तर प्रदेश सभामा हारेँ।’
गत प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनको भागबण्डामा सिट नपरेपछि गोविन्दलाई जसपाले राष्ट्रिय सभामा लाने आश्वासन दिएको थियो। तर थारू महिला क्लस्टर खाली भएकाले बुवाको साटो आफूलाई राष्ट्रिय सभामा पार्टीले उम्मेदवार बनाएको पूजाले बताइन्।