सामाजिक फीड-
जनकपुरधाम, पुस २२ गते ।
सर्लाहीको बरहथवामा ११ बुँदे सहमतिपछि मृतक जयशंकर साहको शव प्रहरीले उठाउन लागेको छ । आइतबार साँझ मृतक परिवार तथा आन्दोलनरत्त पक्ष र प्रशासनबीच ११ बुँदे सहमतिपछि प्रहरीले मुचुल्का गरी शव उठाउन लागेको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार दोषी प्रहरीमाथि छानविन गरी कारबाही गर्ने, सहिद घोषणा गर्ने, मृतकको नामबाट प्रादेशिक अस्पतालको नामाकरण गर्ने, छानविनमा सघाउने, शव उठाउने लागयतको ११ बुँदे सहमति भएको हो ।
सहमतिसंगै आन्दोलनरत्त पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिएको प्रजिअ धमलाले बताए ।
बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानीय युवा व्यवसायी २७ वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।
विद्युत महसुल बुझाउन पुगेका सहामाथि प्रहरीले गोली चलाएपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । उनी स्थानीय सर्लाही होटेलका संचालक तथा कुखुरा दानका हलसेल बिक्रेता थिए ।
यस्तो छ ११ बुँदे सहमति
१. आन्दोलनको क्रममा असमायिक निधन भएका युवा व्यवसायी जयशंकरप्रति श्रद्धाञ्जली र परिवारप्रति सम्वेदना व्यक्त
२.गृहमन्त्रालयबाट गठित छानबिन समितिलाई स्वतन्त्र निष्पक्ष रुपमा घटनाको छानविन गर्न सहयोग गर्ने
३.मृतक परिवारको एकजनालाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने
४. प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति पश्चात कानुन बमोजिम प्रक्रिया पूरा गरी नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने, अस्पताल संचालन सम्बन्धमा बरहथवा नगरप्रमुख र मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सहकार्य एवं छलफलबाट टुंग्याउने
५. मृतकको शालिक अस्पताल प्रांगण वा व्यवसायीले चाहेको ठाउँमा स्थापना गर्ने
६.पाँचदलीय गठबन्धनले सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने र आगामी दिनमा नगरपालिकालाई शान्तिपूर्वक सहकार्य र सहयोग गर्ने
७. मृतकको नामबाट प्रक्रिया पर्याइ प्रादेशिक अस्पताल बरहथवाको नामाकरण गर्ने
८. दोषी प्रहरी कर्मचारीलाई छानविन गरी कारबाहीको प्रक्रिया अघि बढाउने
९. मृतकलाई सहिद घोषणाको प्रक्रिया अघि बढाउने
१०. आन्दोलनमा भएको क्षति सम्बन्धित निकायबाट भराउन जिल्ला प्रशासनबाट सिफारिस गराउने
११. मृतकको शवलाई तत्काल पोस्टमार्टम गरी व्यवस्थापन गर्ने