काठमाडौँ, २२ पुष । राष्ट्रियसभा निर्वाचनका लागि जनता समाजवादी पार्टीले पाएको एक मात्र सिटमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार ललितपुरमा बसेको जसपाको कार्यकारिणी समितिको बैठकले मधेश प्रदेशबाट चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
रौतहटकी चौधरी जसपाका कार्यकारिणी सदस्य गोविन्द चौधरीकी छोरी हुन् । गत निर्वाचनमा उनी प्रदेश सभा सदस्यमा उम्मेदवार थिइन् । तर पराजित भएकी थिइन् ।
दुई सिट माग्दै आएको जसपाले मात्र १ सिटमा चित्त बुझाएको छ । सत्ता साझेदार दल नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्तिले भने भाग पाएका छैनन् । सत्ता गठबन्धनले निर्वाचन हुने १९ सिटमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २, जनता समाजवादी पार्टीले १ सिट भागबन्डा गरेका छन् ।