Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २२ पुस । नेकपा एमालेले राष्ट्रियसभा चुनावका लागि उम्मेदवारहरूको टुंगो लगाएको छ । यद्यपि उम्मेदवारकाे सूची भने सार्वजनिक गरिएको छैन । निर्वाचनका लागि १९ वटै सिटमा उम्मेदवारको टुंगो लगाएर टिकटसमेत दिइसकेको एमाले स्रोतले जनाएको छ ।

जसअनुसार कोशी प्रदेशबाट अन्य निर्वाचन क्षेत्रबाट भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रूक्मिणी चौधरी उम्मेदवार बन्ने भएका छन् । एमालेले मधेश प्रदेशमा अन्य समूहबाट महोत्तरीका अर्जुनकुमार सिंह र महिलातर्फ पर्साकी उषा चौधरीलाई उम्मेदवार बनाउने भएको छ ।

लुम्बिनी प्रदेशबाट अन्य समूहबाट पाल्पाका झपिन्द्रबहादुर बिसी र महिलातर्फ तुलशा केसी उम्मेदवार बन्ने निश्चित भएको छ। त्यस्तै बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मा र अपाङ्गतातर्फ विवेक देवकोटा र अन्य क्लस्टरबाट चितवनका त्रिलोचन निर्मल पौडेलको नाम अघि सारिएको छ ।

कर्णालीमा अन्य क्लस्टरबाट मुगुका डिल्लीराज भट्ट, दलिततर्फ दैलेखका हिक्मत विश्वकर्मा र महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही उम्मेदवार बन्ने टुंगो लागेको छ । गण्डकी प्रदेशमा अन्य क्लस्टरबाट बागलुङका मोहनलाल शर्मा, अपाङ्गतारअल्पसंख्यक निर्वाचन क्षेत्रबाट मुस्ताङका हेमन्त शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार बन्ने भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल उम्मेदवार बन्ने टुंगो लागेको छ । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका छ ।

फागुन २० गते राष्ट्रिय सभाका २० सांसदहरूको पदावधि सकिँदैछ । कार्यकाल सकिने एक महिनाअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाअन्तर्गत निर्वाचन हुन लागेको हो । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन घटक दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनाव लड्दैछन्।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्तिले भने भाग पाएका छैनन्। सत्ता गठबन्धनले निर्वाचन हुने १९ सिटमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २, जनता समाजवादी पार्टीले १ सिट भागबन्डा गरेका छन्। यद्यपि समाजवादीले २ सिटमा चित्त बुझाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *