Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २२ गते ।

सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मारिएका युवक जयशंकर साहको शव दुईदिनदेखि घटनास्थलमै छ । मृतक परिवार तथा आन्दोलनकारीको मागमा सहमति नजुट्दा उनको शव अझै घटनास्थलमै छ ।

शव व्यवस्थापन र प्रदर्शन रोक्ने विषयमा शनिबार साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवामा चलेको छलफल बिना निष्कर्श सकिएको थियो ।

आज बिहान ८ बजेको लागि पुनः आन्दोलनरत्त पक्ष, मृतक परिवारसहित छलफलको लागि इलाका प्रशासन कार्यालय बरहथवामा बैठक डाकिएको छ । हिजोको छलफलबाट केही विषयमा सहमति भएको र आज हुने छलफलबाटघ टुंगो लाग्न सक्ने जिल्ला प्रही कार्यालय सर्लाहीका प्रमुख (एसपी) प्रविण धितालले बताए ।

मृतक परिवार तथा आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण हुनुपर्ने, बरहथवाका मेयरले राजिनामा दिनुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्तरोन्नति गरी ५० बेडको बनाउन मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेसहित माग राखेका छन् ।

शनिबार नै गृहमन्त्रालयले घटनाको छानविनको लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । साथै मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय समेत गरेको छ ।

बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकरको मृत्यु भएको थियो । मृत्यु पश्चात स्थानीय प्रशासनले शनिबार बिहान ८ बजेसम्मको लागि कर्फ्यू लगाएको थियो । हिजो कर्फ्यू पश्चात आज बिहान ८ बजेसम्मका लागि लगाइएको निषेधाज्ञाको समय सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *