काठमाडौँ, २१ पुस । सर्लाहीको बरहथवा घटनालाई लिएर सरकारले छानबिन समिति बनाएको छ । बरहथवामा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न शनिबार गृह मन्त्रालयले तीन सदस्यीय समिति बनाएको हो ।
मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा बनाइएको समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन् ।
शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका–५ मा प्रँथमिक स्वास्थ्यकेन्द्र बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने विषयमा भएको विवादमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर बरहथवा–६ का अन्दाजी ३० वर्षका जयशंकर साहको मृत्यु भएको थियो । मृतक परिवारलाई १० लाख रुपैयाँ दिने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् । घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई ७ दिनको समय दिइएको छ ।
