Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २१ गते ।

सर्लाहीको बरहथवामा कर्फ्यूको समय आज बिहान ८ बजे सकिएपछि स्थानीय प्रशासनले २४ घण्टाको लागि निषेधाज्ञा लगाएको छ । आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।

बरहथवा नगरपालिका ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानीय युवा जयशंकर साहको मृत्यु भएपछि स्थिति साम्य पार्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले हिजो शुक्रबार बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मको लागि कर्फ्यु जारी गरेको थियो ।

बरहथवा नगरपालिकाको पूर्वमा – सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा – हनुमान मन्दिर र उत्तरमा सोती÷चोर्निया पुलसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।
निषेधाज्ञा जारी भएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने छैन ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (२) र (३) बमोजिम देहायको क्षेत्रहरुमा निषेधाज्ञा आदेश जारी गरिएको छ । आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने प्रजिअ धमलाले चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *