Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २० पुष । आम जनता पार्टी (आजपा) ले सर्लाहीको बरहथवामा स्थानीय जयशंकर साहको मृत्यु भएको घटनाको भर्त्सना गर्दै उच्चस्तरीय छानबिनको माग गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै भएको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।

सोही घटनालाई लिएर आजपाले विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको हो । प्रशासनको निर्मम हस्तक्षेपमा प्रहरीको गोली लागी साहको मृत्यु हुनु आपत्तिजनक एवं निन्दनीय भएको आजपाले बताएको छ ।

‘यस घटनाका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै घटनाको घोर भर्त्सनासमेत गर्दछु’ आजपाका केन्द्रीय प्रवक्ता चन्द्रभुषण साह (सीबी) ले विज्ञप्ति निकालेर भनेका छन् ।

पछिल्लो समय न्याय प्राप्तिका लागि हुने विभिन्न शान्तिपूर्ण संघर्षमा पटक–पटक राज्य पक्षद्वारा भइरहेको निर्मम एवं अमानवीय दमनकारी हर्कतहरूले सरकार निरंकुशताको पथमा अग्रसर रहेको पुष्टि हुँदै गएको प्रवक्ता साहले बताएका छन् ।

उनले यो घटनाको सम्बन्धमा उच्चस्तरीय न्यायिक समितिमार्फत् छानबिनको मागसमेत गरेका छन् । ‘देशमा भइरहेका यी र यस्ता आपराधिक घटनाहरूको यथार्थ कारण पता लगाउन तत्काल उच्चस्तरीय न्यायिक समिति निर्माण गरी यसमा प्रत्यक्ष एवं परोक्ष रूपमा संलग्न सबै अपराधीलाई हदैसम्मको कानुनी कारबाही गर्न’ विज्ञप्तिमार्फत् माग गरिएको छ ।

मृतक परिवारलाई राहतस्वरूप क्षतिपूर्तिको व्यवस्था गर्दै सम्पूर्ण घाइतेको निशुल्क उपचारको समुचित प्रबन्ध गर्न आजपाले तीनै तहका सरकारहरूसहित सम्बन्धित सबै निकायसँग मागसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *