Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, १९ पुष । नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा चार वटा सम्झाैतामा हस्ताक्षर भएका छन् । बिहीबार परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा काठमाडाैँमा बसेको आयोगको बैठकमा नेपाल र भारतबीच सहयोग आदानप्रदानसम्बन्धी चार वटा सम्झौतामा हस्ताक्षर भएका हुन् ।

बैठकअघि दीर्घकालीन विद्युत व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो भने बाँकी तीन सम्झौता आयोगको बैठक सकिएलगत्तै भएको छ । बिहान सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा दुई देशका सचिवबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौतामा १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालले भारतमा निर्यात गर्ने उल्लेख छ ।

त्यस्तै, आयोगको बैठकमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र अर्थसचिव कृष्णहरि पुष्करले भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) अन्तर्गतको रकम २० करोड रूपैयाँ पुर्‍याउने सम्झौता गरेका थिए ।

त्यस्तै, नेपालले बनाएको मुनाल स्याटेलाइट प्रक्षेपणका लागि भारतले सहयोग गर्ने सम्झौता पनि भएको छ। यसैगरी, नवीकरणीय ऊर्जा विकास क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी पनि सम्झौता भएको छ। गत कात्तिक १९ मा जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षतिका राहतका लागि पनि पाँचौँ चरणको सामग्री पनि हस्तान्तरण भएको छ।

यस्तै, साउद र जयशंकरले तीन वटा अन्तरदेशीय प्रसारण लाइनको पनि संयुक्त उद्घाटन गरेका छन् । उनीहरूले भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल-परवानीपुर प्रसारण लाइन, कुशाहा-कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा-मैनाहिया प्रसारण लाइनको संयुक्त उद्घाटन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *