काठमाडौँ, १९ पुष । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीले सर्लाही मलंगवा घर भई हाल काठमाडौँ शान्तिनगर बस्ने बलरामकुमार महतो, झापा घर भई टोखा बस्ने गणेशकुमार कुलुङ राई र नुवाकोट घर भई हाल टोखा बस्ने रचना थापालाई पक्राउ गरेको छ । महतोले जीवछकुमार साहसहित २ जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै ४ लाख ९४ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोप छ ।
त्यस्तै, गणेश राईले जापान पठाइदिने भन्दै भक्तबहादुर राईसहित २ जनासँग ६ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । त्यसैगरी, २२ वर्षीया रचना थापाले रामचन्द्र कार्कीलाई पोर्चुगल पठाइदिने भन्दै ९ लाख ९० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेकी थिइन् । पक्राउ गरिएका तीनै जनामाथि थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।