विराटनगर, १९ पुस । मोरङको सुन्दरहरैँचामा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । अभिभावकसँग डेरा गरी बस्ने बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगरलाई पक्राउ गरेको हो ।
धनकुटा घर भएकी बालिका हजुरबुबा र हजुरआमासँग मगरको घरमा डेरा बस्दै आएकी थिइन् । बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बालिकाका बुबा विदेशमा छन् भने आमा दोस्रो बिहे गरेर गएकी छन् ।
अभिभावकले देखेपछि घटना बाहिर आएको हो । कसैलाई भने कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।