Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, १८ पुष । धाेती दिवसका अवसरमा मधेशी समुदायका व्यक्तिहरूलाई धरपकड गरिएकोप्रति मधेशी आयोगले आपत्ति जनाएको छ । आयोगले बुधबार विज्ञप्ति जारी गरी विशेष भेषभूषा, रंग-रूप र भाषा भएकालाई धडपकड वा गिरफ्तार गरी कारबाही गरिएकोप्रति आपति जनाएको हो ।

कुनै समुदायलाई लक्षित गरी गिरफ्तार गर्नु मौलिक हकमाथिको प्रहार भएको पनि आयोगको ठहर छ । संविधान प्रदत्त मौलिक हकको बेरोक-टोक र निर्वाध रूपमा नागरिकलाई उपयोग र उपभोग गर्न दिनका लागि आयोगले सरकारसँग अपिलसमेत गरेको छ ।

आयोगकी निमित सचिव सविता डंगोलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यले उल्लेखित मौलिक हकको पूर्णतः उपभोग गर्ने वातावरणको सृजना गर्न दिनुपर्छ । नकि कुनै विशेष भेषभूषा, रंग-रुप भाषा भएकालाई धडपकड वा गिरफ्तार गरी कारबाही गर्ने ।’

आयोगले संविधानले गरेको माैलिक हकको व्यवस्था पनि स्मरण गराउँदै भनेको छ, ‘नेपालको संविधानको भाग – ३ मा मौलिक हकको व्यवस्था गरेको छ । जसमा धारा- १७, धारा- १८, धारा- ३२ लगायतका धाराहरूले प्रत्येक नेपाली नागरिक र समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्बर्द्धन गर्ने हक प्रदान गरेको छ ।’

यसैबीच, आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मधेशी समुदाय भएकै कारणले आफ्नो संस्कृतिको संरक्षण गर्न नपाउनु र संरक्षण तथा सम्बर्द्धन लक्षित कार्य गर्दा समय समयमा राज्यले धरपकड गरी कारबाही गर्नुले मधेशी समुदायप्रति सरकारको नियतलाई प्रस्ट पारेको बताएका छन् । अध्यक्ष डा. दत्तले मधेशी समुदायप्रति राज्य संवेदनशील भए मात्र राज्यको विकाश द्रुत गतिमा अगाडि बढ्नेसमेत बताएका छन् ।

मंगलबार धोती दिवसको अवसरमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, केन्द्रीय मन्त्री अनितादेवी साहसहित करिब ६० जनालाई काठमाडाैँमा गिरफ्तार गरिएको थियो । उनीहरूलाई केही घण्टा हिरासतमा राखी रिहा गरिएको थियो । माइतीघर मण्डलाको निषेधित क्षेत्र उल्लंघन गर्न खोजेको भन्दै उनीहरूलाई पक्राउ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *