ललितपुर, १७ पुष । आरती साहका परिवारजन तथा अभियानीहरूलाई पक्राउ गरिएको छ । मंगलबार आरती साहका लागि न्याय माग्दै ललितपुरस्थित मानवअधिकार आयोग अगाडि प्रदर्शन गरेका उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले आरती साहका बुवा विनोद साह, भाइ प्रेम साह, अभियानकर्मी अनिता यादव, जस्मिन ओझा, विनु यादव र दीपक गुप्तालाई पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ । मानवअधिकार आयोगले अनुगमन गरेर घटनाको गलत रिपोर्ट बनाएको भन्दै त्यसको विरोधमा पनि प्रदर्शन गरिएको उनीहरूले बताएका छन् ।
माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेपछि आरती साहका परिवारले शान्तिवाटिकामा शान्तिपूर्ण धर्ना दिँदै आएको छ । २०८० जेठ ७ मा जनकपुर उपमहानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा आरती मृत फेला परेकी थिइन् ।
आरतीको हत्या भएको पीडित परिवारको आरोप छ । केही दिनअघि मात्र आरती साहका श्रीमान् मोतीबाबुलाई प्रहरीले पुन: पक्राउ गरेको थियो । यसअघि, पुर्पक्षमा रहेका मोतीबाबुलाई उच्च अदालतको आदेशमा धराैटीमा रिहा गरिएको थियो ।