रौतहट, १४ पुस । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद् प्रभु साहले अन्तरिम सरकार गठन हुनुपर्ने माग गरेका छन् । शनिबार रौतहटको मौलापुरमा पार्टीनिकट आईटी आर्मीको तेस्रो ऐतिहासिक राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष साहले देशलाई ठोस निकास दिन वर्तमान सरकार असफल भएको भन्दै तत्काल विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग गरेका हुन् ।

उनले अहिलेको संवैधानिक व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानुको बिकल्प नभएको पनि बताए । अन्तरिम सरकार गठनमा कुनै बाधा आए आईटी आर्मीको अर्धसैन्य शक्तिको बलमा समानान्तर सरकार निर्माण गरी अघि बढ्नुपर्ने पनि उनको भनाइ छ । यसतर्फ देशभक्त युवाहरूलाई गम्भीर हुनसमेत आजपा अध्यक्ष साहले अपिल गरेका छन् ।
भेलामा आजपा उपाध्यक्ष तिलक थापा, महासचिव उपेन्द्र साह, उपमहासचिव अरुण घिसिङ्, सचिवद्वय पूर्वसांसद समिना हुसैन र ज्ञानेन्द्र तामाङ्, स्थायी कमिटी सदस्य धर्मेन्द्र सापकोटा, प्रदेश ईन्चार्ज सुधीर यादव, आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्रभुषण साहलगायत नेता तथा कार्यकर्ता सहभागी छन् । भेलाले भ्रष्टाचारविरुद्ध सशक्त संघर्ष गर्ने प्रतिबद्धतासहित राजनीतिक दस्तावेजसमेत पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । भेला ५ दिन चल्नेछ ।