समाजिक फीड-
काठमाडौं, पुस १३ गते ।
ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्रमा शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा घाइते भएका अर्को युवकको पनि मृत्यु भएको छ।
मृत्यु हुनेमा दैलेखका सुजन रावत रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले पुष्टि गरे। यसअघि डोटीका वीरेन्द्र साहको मृत्यु भएको थियो ।
आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका क्रममा निधन भएको उनले बताए। दुबै जनालाई प्रहरीको गोली लागेको थियो । राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन । बरु छातीमा दाग देखिएको छ ।
पानीजहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो ।
पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तीर्णले फर्म भर्न नपाउने निर्णय विरुद्ध युवाहरु अदालत गएका थिए ।
उत्पादनमूलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो ।
अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो ।