हेटौँडा, १३ पुष । सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका छन् । केन्द्र सरकारले आवश्यक कानुन बनाएर अधिकार हस्तान्तरण नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका उनीहरूले अधिकारका लागि थप रणनीति बनाउन शुक्रबार तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया गरेका हुन् ।
भेलामा प्रदेश र स्थानीय तहका विज्ञहरूसमेत सहभागी छन् । उनीहरूबाहेक मुख्यमन्त्रीको समेत छुट्टै बैठक बस्दैछ । संघीयता कार्यान्वयनमा आएको लामो समय भइसक्दा पनि महत्त्वपूर्ण कानुन नबन्दा प्रदेश सरकार अधिकार सम्पन्न हुन नसकेको मुख्यमन्त्रीहरूको गुनासो छ ।
बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै रहेको आरोप लगाएका छन् । उनले संघीय सरकारमा रहेका व्यक्तिहरूमा सामन्ती निरङ्कुश विचार धारणा कायमै रहेको आरोप लगाए । उनले हेटौँडाको भेलाले उक्त विचारधारालाई चुनौती दिनेसमेत बताए ।