सिरहा, १३ पुष । सिरहाको नवराजपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् ।
बिहीबार दिउँसो नगराजपुर गाउँपालिका–४ मा बीआर ३२ एएन ०५९२ नम्बरको स्कुटर र स.९ प १७३० नम्बरको मोटरसाइकल ठोक्किँदा स.९ प १७३० नम्बरको मोटरसाइकलमा सवार नवराजपुर गाउँपालिका-२ मझौराका ७३ वर्षीय बिल्टु यादवको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारका लागि धरानतर्फ पठाइएको छ । स्कुटर चालकको भने प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ ।
यसैबीच, पर्साको छिपहरमाई गाउँपालिका-३ झलमैयामा ना.७ ख ९४९४ नम्बरको बसबाट लडेर सोही बसको टायरमा च्यापिएर छिपहरमाई गाउँपालिका-३ झलमैयाका २२ वर्षीय अर्जुन यादवको मृत्यु भएको छ ।
बिहीबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल बारामा उपचारका क्रममा मृत्यु भएको हो । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।