काठमाडौँ, ११ पुस । पूर्वप्रहरी नायव महानिरीक्षक डीआईजी महेशविक्रम शाहसहित दुई जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वडीआईजी शाह र पूर्वसई दीपेन्द्रप्रसाद पनेरुलाई दोषी ठहर गरेको उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिएका छन् । मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र सिन्धुलीको दुधौलीमा कार्यरत रहेका बेला ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको उनीहरूमाथि आरोप थियो ।
हबल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले भने सफाइ पाएका छन् । दोषी ठहरिएका शाह र पनेरुलाई तीन वर्षभन्दा बढीको कैद सजाय हुने निश्चित भएको छ । सजाय निर्धारणका लागि पुस २५ गते अर्को पेशी तोकिएको उपरजिष्ट्रार कार्कीले जानकारी दिएका छन् ।
अख्तियारले २० फागुन २०७६ मा दुधौलीका समादेशक शाहसहित लेखापाल दीपेन्द्रप्रसाद पनेरु, लेखा सहायक केशव सिंह ऐर लगायतमाथि मुद्दा दायर गरेको थियो । भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो । २०७२ साल वैशाख २७ गते प्रहरी जवानहरूको नया भर्ना सुरु भएको थियो ।
पुसको अन्तिम साता तालिम सकिएर माघदेखि तोकिएकै ठाँउबाट तलबभत्ता खानेगरी उनीहरूको पदस्थापना भएको थियो । तर शाह लगायतका अधिकारीहरूले २०७२ साल माघ र फागुनको तलब भत्ता खर्च लेखेर भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो । १०३ जनाको तलब भत्ताको रकम अनियमितता गर्दा ३१ लाख ८८ हजार अनि नयाँ प्रशिक्षार्थीको तलब भत्ताको नाममा थप १ दाख ४९ हजार गरी कुल ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप उनीहरूमाथि थियो ।
अख्तियारले कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल सञ्जिव विशंखेले लेखा परीक्षणका क्रममा त्रुटी लुकाएको भन्दै उनीविरुद्ध समेत अख्तियारले मुद्दा दायर गरेको थियो । २०४६ माघमा प्रहरी सेवा प्रवेश गरेका शाहले ३० वर्षे सेवा अवधिका कारण आरोप लाग्नुभन्दा एक महिनाअघि अवकाश पाएका थिए । शाह मदन पुरस्कारसमेत पाइसकेका साहित्कार पनि हुन् ।