सामाजिक फीड-
जनकपुरधाम, पुस ११ गते ।
बराको कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका ३ बाट राति ८ बजे मुख्य सुटर मानिएका ३२ वर्षीय सुजित सिंहलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधीराम न्यौपानेले जानकारी दिए ।
पक्राउ परेका सिंह भारत बिहार मोतीहारी जिल्लाको छोडादारका हुन् । दुबै खुट्टामा गोली लागेर घाइते सिंहको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ ।
डिएसपी न्यौपानेका अनुसार ४ जनाको जनाको समूहमा नेपाल छिरेको भन्ने सूचनाको आधारमा प्रहरीले पछ्याएको थियो । भाग्न थालेपछि उनको खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । उनको दुवै खुट्टामा गोली लागेको जनाएको छ । गत कार्तिक १३ गते प्रिन्सीपल स्वर्णकारको गोली दागेर हत्या भएको थियो । घटनाको तीनदिन पश्चात प्रहरीले पाँचजनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
यसअघि पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह छन् । घटनामा ८ जनाको संलग्नता रहेको प्रहरीले बताएको थियो ।
प्रहरीले गोली हानेर पक्राउ परेका सिंह नेपालमा अन्यपनि अपराधमा संलग्न रहेको डिएसपी न्यौपानेले बताए ।