Samajik Feed – News Portal from Nepal

समाजिक फीड
राजविराज, पुस १० गते ।
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले मधेशवादी भनिएका दलहरू समाप्त हुने बाटोमा रहेको बताएका छन् । नेता महतोले जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकार छोडेर संघर्षमा नआए समाप्त हुने तथा नया शक्तिको उदय हुने बताएका हुन् ।
महतोले मधेस आन्दोलनमाथि सङ्कट उत्पन्न भएको बताए । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘आन्दोलनमा घटना हुन्छ, कहिले राज्यलाई क्षति हुन्छ भने कहिले व्यक्तिलाई क्षति हुन्छ । यो आन्दोलनको चरित्र हो, तर त्यसलाई आधार मानेर कसैलाई कारबाही गर्न हुँदैन ।’
महोत्तरीमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको विषयलाई लिएर मधेस आन्दोलनलाई अपराधीकरण गरिएको भन्दै उनले यसले मधेसी जनताको अपमान भएको र त्यसलाई स्वीकार गर्न नसकिने बताए । माओवादीको जनयुद्धमा सुरक्षा निकायका थुप्रै व्यक्ति मरेका थिए, त्यो राजनीतिक घटना भयो र मधेस आन्दोलन कसरी आपराधिक घटना भयो उनले प्रश्न गरे ।
मधेस आन्दोलनमा लागेकालाई जन्मकैद दिनु गणतन्त्र नेपालका लागि पहिलो घटना भएको बताउँदै उनले भने– ’यस्तो त राणाहरूको पालामा पनि भएको थिएन ।’आन्दोलनकारीमाथि भएको यस्तो घटनाको जिम्मेवारी तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले लिनुपर्ने बताए ।
नेता महतोले यसमा मदेसवादी दलको सहमति छैन भने तुरुन्तै जवाफ दिनुपर्ने र सरकार छाडेर निस्किनुपर्ने भए पनि त्यसो हुन नसकेको जिकिर गरे । लोसपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सरकारमा छन् । सरकारको मागमा आन्दोलनकारीको आजीवन कारावास भएको छ, यसको मतलब ती दलका नेताहरू पनि यसमा सहमति जनाएको पुष्टि भएको नेता महतोले दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *