काठमाडौँ, १० पुष । किराँत समुदायले आज उधौली पर्व मनाइरहेको छ । किराँतहरूले हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन याे पर्व मनाउँछन् । मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा उधाैली मनाउने गरिएको हो ।
किराँत राईहरूको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । यस चाडमा किराँतीहरू भेला भएर सामूहिक रूपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन् । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ ।
वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ । उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ ।
यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ । किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।