Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस ९ गते ।

भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली (भार) लैजाने विषयमा जानकी मन्दिरका महन्त र सह महन्तबीच मतभेद देखिएको छ । सह महन्त रामरोशन दासले दुईदिन अघि पत्रकार सम्मेलन गर्दै अयोध्याको नवनिर्मित राममन्दिरमा जानकी मन्दिरबाट कोसेली जाने बताएका थिए ।

मन्दिरका मुख्य महन्त रामतपेश्वर दासले कोसेली लिएर जाने विषयमा आफूसंग रामरोशनले कुनै सल्लाह नै नगरेको दावी गरे । जबकी सहमहन्त रामरोशनले ११ सदस्य कोसेली व्यवस्थापन समितिको संरक्षकमा मुख्य महन्त रामतपेश्वर र जनकपुरधामका नगर प्रमुख मनोज साह रहेको बताएका थिए ।

रामतपेश्वरले भने ‘राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली पठाउन सम्भव छैन् । रामरोषण मेरै शिष्य हो । तर उनले कसरी कोसेली लिएर जाने कुरा गर्यो मलाई थाहा छैन् । जानकी मन्दिरबाट कोसेली जादैन् । सम्भव पनि छैन् ।’

राम मन्दिरको प्राण प्रतिष्ठामा कडा सुरक्षा हुने भएकाले कोसेली लिएर गएपनि कुनै वास्ता नहुने मुख्य महन्त रामतपेश्वरको तर्क छ । ‘कोसेली लिएर नजान पनि भन्दिनँ । यदि जान्छ भने उसैले जानोस् ।’ रामतपेश्वरले भने ।

जानकी मन्दिरको मुख्य महन्त रामतपेश्वर रहे पनि मन्दिरको प्रायः हरेक काम सहायक महन्त रामरोषणले नै गर्छन् । तर राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली पठाउने विषयमा मुख्य महन्त र सहायक महन्तबीच विवाद देखिएको छ ।

लामो संघर्षपछि अयोध्यामा भगवान श्रीरामको विशाल मन्दिर निर्माण भएको छ । मन्दिरको प्राण प्रतिष्ठा जनवरी २२ अर्थात् माघ ८ मा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *