काठमाडौँ, ९ पुष । प्रविधिको प्रयोग गरी बैंकबाट रकम चोरी घटनाका आरोपित एक जनालाई कतारबाट पक्राउ गरिएको छ । धनुषाको औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका हुन् । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई उनी फरार थिए ।
उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ । पासमानलगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटीएम कार्डहरूमार्फत् निकालेर प्रयोग गरेको र अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो ।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलासका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।