काठमाडौँ, ८ पुष । काठमाडाैँमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मधेश प्रदेशले आफ्नो तेश्रो खेलमा पनि हार ब्यहोरेको छ । आइतबारको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले हराएको हो ।
कोशी प्रदेशले लगातार तेस्रो जित हासिल गरेको छ भने मधेश प्रदेशले लगातार तेस्रो हार भोगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित ओभरमा चार विकेटको क्षतिमा एक सय २९ रन बनाएको थियो । जवाफी ब्याटिङमा मधेश प्रदेशले निर्धारित ओभरमा नौ विकेटको क्षतिमा ६९ रन मात्र बनाउन सक्यो ।
मधेश प्रदेशका लागि माथिल्ला चार ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी साना प्रविनले अविजित २७ रन बनाइन् । उनले ४१ बलको सामना गरी तीन चौका पनि हिर्काइन् । यसदेखि बाहेक आठौँ नम्बरकी ब्याटर आरती महतोले २० बलमा चार चौकाको मद्दतले १८ रन बनाइन् । मधेश प्रदेशले अतिरिक्त रूपमा ६ रन पाएको थियो । कोशी प्रदेशका बलर सबनम राई र एलिसा खडियाले दुई–दुई विकेट लिए ।
संगीता राई र रुविना क्षेत्रीले पनि एक–एक विकेट हात पारे । क्षेत्री प्लेयर अफ दी म्याच घोषित भइन् । त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको कोशी प्रदेशका लागि ओपनर रुविना क्षेत्रीले ५७ रनको योगदान गरिन् ।
कप्तानको भूमिकामा समेत रहेकी उनले ६४ बलको सामना गरी नौ चौका पनि हिर्काइन् । तेस्रो नम्बरकी ब्याटर अप्सरी बेगमले पनि ३९ रन बनाइन् । उनले ४१ बलमा सात चौका प्रहार गरिन् । यसैगरी सबनम राईले टोलीको खातामा अविजित १६ रन थपिन् ।
उनले केवल आठ बलमा दुई चौका हिर्काइन् । लकिता राजवंशीले ६ र नमिता श्रेष्ठले अविजित दुई रन बनाइन् । कोशीले अतिरिक्त रुपमा पनि नौ रन पायो । ओपनर काजल श्रेष्ठ भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएकी थिइन् । मधेश प्रदेशकी बलर मीना महतोले दुई विकेट लिइन् । पूजा महतो र सरस्वती कुमारीले पनि एक–एक विकेट हात पारेका थिए । मधेश प्रदेश यसअघि एपीएफ र बागमती प्रदेशसँग पराजित भएको थियो ।