काठमाडौँ, ५ पुष । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत बागमतीद्वारा मधेश प्रदेश पराजित भएको छ । बिहीबारदेखि काठमाडौँमा सुरु भएको प्रतियोगिताको पहिलो दिनको खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । जवाफी ब्याटिङमा मधेश प्रदेशले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा ८९ रन मात्र बनाउन सक्यो ।
मधेश प्रदेशका लागि पूजा महतोले ३५ र अनुराधा चौधरीले २१ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । तेस्रो नम्बरमा आएकी पूजाले ४५ बलमा चार चौका प्रहार गरेकी थिइन् । ओपनर अनुराधाले भने २८ बलमा तीन चौका प्रहार गरिन् । यसदेखि बाहेक प्रतिमा साहले मात्र दोहोरो अंकमा रन बनाउन सकिन् । उनले २० बलमा अविजित १५ रन जोडिन् । अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमती प्रदेशका बलर अस्मिना कर्माचार्यले दुई र मनिषा उपाध्यायले एक विकेट लिए । अस्मिना प्लेयर अफ दी म्याच घोषित भइन् ।
त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १७ रन बनाएको थियो । बागतमी प्रदेशका लागि मध्यक्रमका ब्याटरले उत्कृष्ट प्रदर्शन गरे । पाँचौँ नम्बरका क्रिज समाल्न आएकी यशोदा बिष्टले अविजित ४७ रन बनाइन् । यशोदाले केवल ३९ बलको सामना गरी ६ वटा चौका पनि हिर्काइन् । छैटौँ नम्बरमा क्रिज समाल्न आएकी अस्मिना कर्माचार्यले पनि टोलीका लागि ३० रनको योगदान गरिन् ।
कप्तानको भूमिकामा समेत रहेकी उनले ३१ बलमा तीन चौका प्रहार गरिन् । बागमती प्रदेशले केवल ४५ रनको कुल स्कोरमा चार विकेट गुमाएको थियो । त्यसपछि यशोदा र अस्मिनाले नै बागमतीको पाली समालेका थिए । ओपनर हेलिसा गुरुङले १२ रन बनाइन् । अर्की ओपनर कञ्चन श्रेष्ठ आठ रनमै आउट भइन् । अस्मिता खरेलले खातासम्म खोल्न सकिनन् भने सोनी पाख्रिन तीन रनमै पेभेलियन फर्किएकी थिइन् । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि १७ रन पाएको थियो ।
मधेश प्रदेशका लागि पूजा महतोले दुई र कविता गौतमले एक विकेट लिइन् । प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टोली सहभागी छन् । पुस १८ गतेसम्म चल्ने प्रतियोगिता मूलपानी र त्रिवि मैदानमा सञ्चालन हुनेछ ।
पहिलो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता राउन्ड रोविनको आधारमा हुने छ । यसअघि सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइँदै आएको थियो ।