काठमाडौँ, ४ पुष । पाकिस्तानका पूर्वकप्तान बाबर आजम पुन: आईसीसी एकदिवसीय क्रिकेट वरीयताको शीर्ष स्थानमा पुगेका छन् ।
विश्वकपमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका बाबरको वरीयता लामो सयमपछि खस्किएको थियो । तर, आईसीसीको पछिल्लो वरीयतामा उनले भारतका ओपनर ब्याटर शुभमन गिललाई पछि पार्दै एकदिवसीय क्रिकेटको ब्याटरमा पहिलो नम्बरमा पुगेका हुन् ।
यसअघि २ वर्षभन्दा बढी समयसम्म शीर्ष स्थानमा रहेका बाबरको वरीयता गिलले खोसेका थिए । तेस्रो स्थानमा भारतका विराट कोहली छन् । त्यस्तै चौथो स्थानमा भारतकै कप्तान रोहित शर्मा छन् । वरीयताको पाँचौँ स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर रहेका छन् । एकदिवसीय बलिङ वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज यथावत् छन् ।
त्यस्तै दोस्रो स्थानमा अस्ट्रेलियाका जोश हेजलवूड, तेस्रो स्थानमा भारतका मोहम्मद सिराज, चौथो स्थानमा अस्ट्रेलियाका एडम जम्पा र पाँचौँ स्थानमा भारतका जसप्रीत बुमराह छन् । टिम वरीयतामा भने टी–२०, एकदिवसीय र टेस्टको पहिलो नम्बरमा भारत रहेको छ । क्रिकेटका तीनै फर्मेटमा पहिलो वरीयतामा रहेको भारतले विश्वकप उपाधि भने जित्न सकेको थिएन । एकदिवसीय विश्वकप विजेता अस्ट्रेलिया वरीयताको दोस्रो नम्बरमा रहेको छ ।