सिरहा, ४ पुष । तत्कालीन नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य भगवानबाबु साहको निधन भएको छ । मंगलबार साँझ सिरहाको मिचैया नगरपालिका–२ मल्हनियाँस्थित निवासमा नेता साहको निधन भएको हो । ७३ वर्षीय साहको हृदयघातका कारण निधन भएको परिवारिक स्रोतले जनाएको छ ।
समाजसेवी तथा व्यवसायीसमेत रहेका उनी बौद्धिक र शालिन व्यक्तित्व थिए । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपश्चात् २०४८ सालमा भएको पहिलो प्रतिनिधिसभाको आम निर्वाचनमा साह सिरहा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए । मधेश र मधेशीको हितमा गजेन्द्रनारायण सिंहले उठान गरेका एजेण्डाबाट प्रभावित भएर उनी नेपाल सद्भावना परिषदमा आबद्ध भएका थिए ।
२०४७ सालमा गठन भएको नेपाल सद्भावना पार्टीबाट भने उनी सक्रिय राजनीतिक यात्रा सुरु गरेका थिए । नेता साह नेपाल सद्भावना पार्टी, राजपा हुँदै हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सल्लाहकार नेताका रूपमा सक्रिय थिए । तत्कालीन समयमा सिरहाका चर्चित नेताका रूपमा चिनिने उनको निष्ठाको राजनीतिक यात्राको अहिले पनि चर्चा हुने गरेको छ । स्वर्गीय साहका श्रीमती र तीन छोरा छन् ।