एजेन्सी । अष्ट्रेलियाली क्रिकेटका तीव्र गतिका बलर प्याट कमिन्स इन्डियन प्रिमियर लिग (आईपीएल) का सबैभन्दा महँगा खेलाडी बनेका छन् । सनराइजर्स हैदराबादले कमिन्सलाई इतिहासकै सर्वाधिक मूल्य २० करोड ५० लाख भारु (झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको हो ।
प्याट कमिन्सले मूल्य न्यूनतम २ करोड भारु राखेका थिए । सुरुमा उनलाई किन्न चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । ५ करोडमा बेंगलोरले पनि मूल्य लगाएको थियो । चेन्नईले ६ करोड ८० लाखमा पुगेर प्याट कमिन्सलाई छाडेको थियो । त्यसपछि हैदराबाद अक्सनमा आएको थियो ।
हैदराबाद र बेंगलोरबीच कडा प्रतिस्पर्धा भएको थियो । तर बेंगलोरले २० करोड २५ लाखपछि मूल्य लगाएन । हैदराबादले भने २० करोड ५० लाख रुपैयाँमा किनेको हो । यो आईपीएल अक्सनमा पाएको सर्वाधिक मूल्य हो । यसअघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो । त्यस्तै गत वर्ष क्यामरन ग्रीनलाई मुम्बईले १७ करोड ५० लाख भारुमा किनेको थियो ।
यसअघि कमिन्सलाई २०२० मा कोलकाताले १५ करोड ५० लाख भारुमा किनेको थियो । २०२२ मा भने कोलकाताले ७ करोड २५ लाख भारुमा किनेको थियो । कमिन्सले तीव्र गतिमा बलिङसँगै तल्लो क्रममा आक्रामक ब्याटिङ पनि गर्ने गर्दछन् । त्यस्तै अष्ट्रेलियालाई यस पटक विश्वकप उपाधि जिताउन सानदार कप्तानी पनि गरेका थिए ।