काठमाडौँ, २ पुस । ठगी गरेको आरोपमा इन्टरपोलको माध्यमबाट प्रहरीले दुबईबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले यूएईको दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी प्रालिका सञ्चालकसमेत रहेका सर्लाही जानकीनगर स्थायी ठेगाना भई काठमाडौँको कागेश्वरी–७ बस्ने ४१ वर्षीय कोमलराज उपाध्यायलाई पक्राउ गरेको हो ।
रोजगारी लगाइदिने बाहानामा भिजिट भिसामा दुबई बोलाई उनले ठगी गरेको प्रहरीले जनाएको छ । पीडितहरूबाट विभिन्न माध्यमबाट दुई करोड ६३ लाख ५४ हजार बढी रुपैयाँ ठगी गरेर फरार रहेको आरोपमा प्रहरीले उनलाई इन्टरपोलको समन्वयमा नेपाल झिकाएको जनाएको छ ।
श्रीराम रानाभाट समेत ८३ जना व्यक्तिहरूलाई दुबईमा विभिन्न पदमा आकर्षक तलब हुने रोजगारीको प्रलोभन देखाई उनले जाहेरवालाहरूबाट विभिन्न माध्यमबाट रकम असुल गरेको पाइएको छ ।