Samajik Feed – News Portal from Nepal

बारा, ३० मंसिर । बाराको सिम्रौनगढमा युवकलाई गोली प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै निजगढमा प्रदर्शनका साथै चक्काजाम गरिएको छ । मृतक युवक लक्ष्मी मुखियाका परिवार र स्थानीयले घटनामा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन् ।

प्रदर्शनकारीले टायर बाल्नुका साथै नाराबाजी पनि गरेका छन् । बुधबार सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन खोजेको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा मुखियाको मृत्यु भएको थियो । घटनाको छानबिन गरी गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी मृतक पक्षले राजमार्ग बन्द गराएको हो ।

टाउकोमा गोली लागेका सिम्रौनगढ– १ ननसगराढाँटका २५ वर्षीय मुखियाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । नगरपालिकामा दुई महिनादेखि प्रमुख प्रशासकीय खाली रहेकोमा मेयर किशोरी साह कलवारले नयाँ प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई लिएर हाजिर गराउन कार्यालय पुगेपछि तनावको स्थिति बनेको थियो ।

साउनदेखि तलब नपाएका शिक्षक तथा कर्मचारी दुई महिनादेखि निरन्तर आन्दोलनमा छन् । यसैक्रममा बुधबार शिक्षक–कर्मचारीलाई नगरपालिकाको गेटबाट हटाउन खोज्दा झडप भएको हो । अहिलेसम्म बजेटसमेत पास हुन नसकेको नगरपालिकाको आर्थिक कारोबारसहित कामकाज ठप्प छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *