Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २९ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्ना नेता तथा कार्यकर्तामाथि षडयन्त्र भएको भन्दै आन्दोलनमा उत्रिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

वरिष्ठ नेता महतोले शुक्रबार विज्ञप्ति जारी गरी महोत्तरी जिल्ला अदालतको फैसला दुर्भाग्यपूर्ण भएको भन्दै यस्तो आग्रह गरेका हुन् । महोत्तरी अदालतले बिहीबार थमन विक हत्या प्रकरणमा लोसपाका नेता तथा प्रदेश सांसद् अभिराम शर्मासहितलाई जन्मकैदको सजाय सुनाएको थियो । यही फैसलाप्रति महतोले आपत्ति जनाएका हुन् ।

उनले थरुहट र मधेशी मोर्चाका नेताहरूलाई षडयन्त्रविरुद्ध डटेर अगाडि बढ्न पनि आग्रह गरेका छन् ।

महतोले भनेका छन्, ‘लोकतान्त्रिक समाजवादी पार्टीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गरी नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्दछ । सोही अनुरूप मैले हाम्रा पार्टी अध्यक्ष मा. महन्थ ठाकुरलाई आफ्नो नेता कार्यकर्ताविरुद्ध भइरहेको षड्यन्त्रको पर्दाफास गरी निर्भयताका साथ आन्दोलनमा उत्रिन तथा खुट्टा नकमाउन र हिम्मत देखाउन आग्रह गरिसकेको छु र यही विज्ञप्ति मार्फत् थरुहट र मधेशी मोर्चाका सबै नेताहरूलाई डटेर सामना गर्न पनि अपिल गर्दछु।’

उनले अदालतको फैसलामे मधेशमा विकट स्थिति उत्पन्न भएको पनि दाबी गरेका छन् । महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संघर्षमा उत्रने निर्णय लिन आफ्ना पार्टी अध्यक्ष महन्थ ठाकुरलाई आग्रहसमेत गरेका छन् ।

उनले भनेका छन्, ‘महोत्तरी जिल्ला अदालतले सुनाएको फैसला पश्चात जुन विकट स्थिति मधेशमा उत्पन्न भएको छ यसले फेरि एकपटक त्यतिबेलाका आन्दोलन घोषणा गरेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहट संघर्ष समितिलाई जुन आज विभिन्न रूपमा छरिएर बसेको छ त्यसलाई सामूहिक रूपमा सरकारमाथि दबाब बनाउन नैतिक दबाब सृजना गरेको छ । अधिकार र पहिचानका लागि भएको आन्दोलनको मागलाई दबाउन राज्यद्वारा भइरहेको प्रपंचको हामी खुलेर बिरोध गरौँ । तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहटका सवै नेताहरूलाई विभिन्न तहका सरकारहरूलाई दिएको समर्थन फिर्ता गरी एकताबद्ध र गोलबद्ध भई प्रतिकारमा उत्रिन आह्वान गर्दछु।’

महतोले वक्तव्यमा मधेश आन्दोलनका बेला भएका घटनामा पूर्वाग्राही ढंगले मुद्दा दायर भएको र त्यसमाथि गरिएको फैसला दुर्भाग्यपूर्ण रहेको पनि बताएका छन् । यो फैसलाले मधेशी जनतालाई हारको मनोविज्ञानमा धेकेल्ने काम गरेको पनि महतोले उल्लेख गरेका छन् ।

अधिकार र पहिचानको लागि भएको आन्दोलनलाई दबाउन राज्यबाट प्रपञ्च भइरहेकाले मधेशी मोर्चा र थरुहटका सबैलाई संयुक्त आन्दोलनका निम्ति महतोले आग्रह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *