Samajik Feed – News Portal from Nepal

बारा, २८ मंसिर । बाराको सिम्रौनगढमा युवकलाई गोली प्रहार गर्ने प्रहरीसहितलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । मृतक युवक लक्ष्मी मुखियाका परिवार र स्थानीयले घटनामा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै बिहीबार प्रदर्शन गरेका हुन् ।

बुधबार सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन खोजेको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा स्थानीय मुखियाको मृत्यु भएको थियो । परिवारजनले मुखियालाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई राहत दिनुपर्ने र बुधबार नगरपालिकामा ड्युटीमा रहेका प्रहरी निरीक्षक यादवलाई कारबाही गर्नुपर्ने माग राखेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाहिर प्रदर्शन गरेका हुन् । पीडित परिवारले अहिलेसम्म शव पनि बुझेको छैन ।

टाउकोमा गोली लागेका सिम्रौनगढ– १ ननसगराढाँटका २५ वर्षीय मुखियाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । नगरपालिकामा दुई महिनादेखि प्रमुख प्रशासकीय खाली रहेकोमा मेयर किशोरी साह कलवारले नयाँ प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई लिएर हाजिर गराउन कार्यालय पुगेपछि तनावको स्थिति बनेको थियो । साउनदेखि तलब नपाएका शिक्षक तथा कर्मचारी दुई महिनादेखि निरन्तर आन्दोलनमा छन् । यसैक्रममा बुधबार शिक्षक–कर्मचारीलाई नगरपालिकाको गेटबाट हटाउन खोज्दा झडप भएको हो । अहिलेसम्म बजेटसमेत पास हुन नसकेको नगरपालिकाको आर्थिक कारोबारसहित कामकाज ठप्प छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *